२०८० चैत्र १६ , शुक्रवार

उद्योगी व्यवसायीको मनोबल उच्च राख्न आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघले उद्यमी व्यवसायीको आत्मदाहले चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको बताएको छ । परिसंघले आज एक बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

 

‘पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह÷आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको छ । यी घटनाहरुबाट दिवंगत हुनुभएका उद्यमीहरुको आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दर्छौं । साथै, सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकटसँगै यस असह्य शोक सहन सक्ने शक्ति प्रदान होस् भनि प्रार्थना समेत गर्दछौं,’ बिज्ञप्तिमा लेखिएको छ ।

 

महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन यतिबेला सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयासहरु सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा घटेका (आत्मदाह÷आत्महत्याका) घटनाले अर्थतन्त्रको विकास र व्यवसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको पनि परिसंघले जनाएको छ ।

 

विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाल सरकारबाट चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमहरुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको परिसंघको ठहर छ । साथै, पर्यटक आवागमन तथा रेमिट्यान्समा बृद्धि, शोधनान्तरस्थितीमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएका छन् । यस्ता सकारात्मक कदमहरु सरकारले क्रमशः अगाडि बढाउदै लैजाने हाम्रो विश्वास छ । र, केही महिनामै सरकारले लिएका र लिने कदमहरुले तरलताको स्थिती र समग्र मागमा बृद्धि ल्याई अर्थतन्त्र चलायमान हुने परिसंघको धारणा छ ।

 

कठिन अवस्थाको सम्वेदनशीलताका बारेमा सरकार, निकायमकीय निकाय पनि जानकार रहेको हाम्रो बुझाइ छ । यस कठिन अवस्थाबाट निकास दिन सबै प्रयासरत छन् भन्ने परिसंघको विश्वास छ । नेपालको निजी क्षेत्र कठिनतम् अवस्थालाई चिर्दै अगाडि बढेको विगत छ । सशस्त्र द्धन्द, भूकम्प, कोभिड महामारी जस्ता अभूतपूर्व कठिन अवस्थामा पटक–पटक यसको पुष्टि भइसकेको छ । विगतमा जस्तै हालको कठिन स्थितीबाट पनि निजी क्षेत्र बाहिर निष्कने क्षमता राख्दछ । र, चाडै बाहिर निष्कन्छ भन्ने परिसंघको विश्वास छ ।

 

निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार हो । जसको ७० प्रतिशत भन्दा बढी राजश्वमा योगदान छ । अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरु निराश हुँदा राजश्वमा मात्रै नभई देशको प्रगतीमा नै नकारात्मक असर पर्छ । उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व हो । यो जिम्मेवारी निजी क्षेत्रको मात्रै नभई राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तिय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरुको हो ।

 

अर्थतन्त्र नाजुक परिस्थितीबाट गुज्रिरहेको बेलामा सबै सरोकारवालाहरुलाई संयमता अपनाई उद्योगी व्यवसायीहरुलाई यो परिस्थितीबाट माथि उकास्न मद्दत गर्न परिसंघ अनुरोध गर्दछ । मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवालाहरुलाई एकीकृत पहल गर्दै अघि बढ्न परिसंघले अपिल गरेको छ ।