२०८१ बैशाख १४ , शुक्रवार

अफलाइन राइडरका कारण यात्रु ठगिने क्रम बढ्दो

सुनाखरी न्युज/ काठमाडौं । अहिले काठमाडौं उपत्यकाको हरेक चोक र गल्लीमा देख्न सकिन्छ, बाइक, निजि कार र ट्याक्सी । सडक किनारामा जो कोहि देख्नेवित्तिकै चालकले सोधिहाल्छन्, कहाँसम्म जाने हो ?

 

अनलाइन एपमार्फत यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्ने सामान्य नै हो । अनलाइनमा यात्रु ओसार्दा गन्तव्यसम्म पुग्ने रकम र नपुगुञ्जेल सम्बन्धित एपमा रेकर्ड कायम नै रहन्छ ।तर, हरेक चोक र गल्लीमा भेटिने यस्ता अधिकांश सवारी साधनले ती नाम चलेका राइडर कम्पनीको नाम लिने तर त्यस्ता राइडर कम्पनीमा दर्ता नभइ काम गर्दा ठगिने र लुटिने घटना बढेको प्रहरीले जनाएको छ । अफलाइन राइडरहरुले ठगी गरेको जनगुनासो बढेपछि उपत्यकामा प्रहरीले ती राइडरलाई नियन्त्रणमा समेत लिन थालेको छ । ट्याक्सी चढ्दा या अफलाइन राइड प्रयोग गर्दा यात्रु नै सजग हुनुपर्ने प्रहरीको भनाई छ ।

 

पठाओ लगाएतका कतिपय एप सञ्चालक कम्पनीले यात्रु सवार अवधिमा कारणवस दुर्घटना भएमा ५ लाख रुपैयाँसम्मको विमा सुविधा दिएको छ । तर, अफलाईनमा यात्रु ओसार्दा कथमकदाचित त्यस्ता सवारी साधन दुर्घटनामा परिहाले यात्रुले विमा रकम दावि गर्न पाउँदैन । यद्यपी, विमाको दावि गर्न दुर्घटना भएको समयमा प्रयोग भएका सवारी अनलाईनमा गन्तव्यमा गइरहेको हो वा होइन कम्पनीसँग रेकर्ड कायम रहन्छ ।

 

चालु आर्थिक वर्षमा २ सय ८६ वटा अफलाइन राइडरलाई अपराध र सजाँयका सम्बन्धमा अनुशिक्षण दिई छाडिएको प्रहरीको तथ्याङक छ । त्यस्तै ट्राफिक प्रहरीले ३ हजारभन्दा बढी अनलाइन राइडरलाई सवारी नियम उल्लंघनमा कारवाही समेत गरेको छ ।