२०८१ बैशाख ४ , मंगलबार

गृहमन्त्रीको नागरिकताविरुद्धको मुद्दाको बहस सकियो

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दाको अन्तिम बहस सकिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आज बहस सकिएको हो। बहस सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरु आदेशलाई अन्तिम रुप दिन लागेका छन् ।

 

सर्वोच्च अदालत प्रशासनले अब केही बेरमा मुद्दाको विषयमा इजलासबाट निर्णय आउने जानकारी दिएको छ । शुक्रबार लामिछानेका तर्फबाट ४ जना कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता नरेन्द्र केसी तथा अधिवक्ताहरु आशिष अधिकारी, सुदीप पन्त र यज्ञमणि न्यौपानेले लामिछानेको प्रतिरक्षामा बहस गरेका हुन् । यस्तै, रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र रमण कर्ण तथा अधिवक्ता अनिता श्रेष्ठले जवाफ बहस गरेका थिए ।

 

जवाफ बहसका क्रममा रिट निवेदक पक्षका कानुन व्यवसायीले कानुन राज्यको मान्यता स्थापित गर्न माग गरेका छन् । लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै अधिवक्ता रबिराज बसौला र युवराज पौडेलले सर्वोच्चमा छुट्टा–छुट्टै रिट दायर गरेका थिए ।