२०८१ बैशाख १४ , शुक्रवार

लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या सम्बोधन अत्यावश्यक : महासंघ

सुनाखरी न्युज/ काठमाडौं । इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघ स्वर्गिय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।

 

तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएका छन् । यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरु देह त्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुखदायी छ । महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धि ऐन, व्यवसायिक उधारोको विमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका बिषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवालासमक्ष निरन्तर पैरवी गर्दै आइरहेको छ । सरकार र केन्द्रिय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुखद घटनाहरु बढदै गैरहेका छन् ।

 

यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ नेपाल सरकार, नेपाल राष्ट बैंक र अन्य सरोकारवालाहरुमा जोडदार माग गर्दछ । यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघ सम्पूर्ण सबै सरोकारवालाहरुसंग माग पनि गरेको छ । महासंघ आफैले पनि यसै सातामात्रै लघु, घरेलु, साना एवं मझौला उद्यम प्रवद्र्धनका लागि पहिलोपटक राष्टिय सम्मेलन आयोजना गरि सबैको ध्यानाकर्षण गराएको थियो । साथै लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पुर्याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ । हामी निकट भविष्यमा नै वेबसाइट मार्फत गुनासो संकलन गरि सम्बन्धित निकायमा पुर्याउने तयारी पनि गरिरहेका छौ । व्यवसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ ।

 

महासंघ सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी व्यवसायीलाई आफ्ना समस्याबारे महासंघलाई जानकारी गराइ दिन हुन आग्रह गर्दछ । समस्या समाधानका लागि महासंघले भरमग्दुर प्रयास गर्नेछ ।