२०८१ बैशाख १२ , बुधवार

सौन्दर्य प्रतियोगिताका नाममा यौनशोषण !

सुनाखरी न्युज/ काठमाडौं ।

सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसी बालयौन दुरुपयोग र मानव बेचबिखन मुद्दामा दोषी पाइएका छन् । काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार दुवै कसुरमा पाण्डेलाई दोषी ठहर गरेको हो ।

 

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बालयौन दुरुपयोग मुद्दामा पाण्डेलाई ६ महिना कैद, पीडित युवतीलाई ५० हजार क्षतिपूर्ति र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको जानकारी दिए ।

 

पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

मानव बेचबिखन मुद्दामा भने उनलाई कति सजाय हुने भन्नेबारे न्यायाधीश ढकालकै इजलासले आगामी माघ २३ मा निर्धारण गर्नेछ । फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ मा ‘कानुनमा नै कैद वा जरिवानाको निश्चित अंक किटान भएको र तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने अभियोगमा अदालतले कसुर ठहर गरेकै मितिमा’ सजाय गर्न सक्ने व्यवस्था छ । त्यसभन्दा बढी सजाय हुने अपराधमा भने कसुर ठहर भएको ३० दिनभित्र छुट्टै सुनुवाइ गरेर सजाय तोक्नुपर्ने कानुनी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको दफा २२५ मा बालयौन दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था भएकाले कसुर ठहर भएकै दिन ९मंगलबार० पाण्डेलाई सजाय सुनाइएको हो । मानव बेचबिखन मुद्दामा पाण्डेलाई १० देखि १५ वर्षसम्मको कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

अदालतमा पाण्डेविरुद्ध बहस गरेकी काठमाडौं जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले उनलाई दुवै मुद्दामा दोषी ठहर गराउन सक्नु आफूहरूको ठूलो सफलता भएको बताइन् । ‘अब हाम्रो ध्यान मानव बेचबिखन मुद्दामा हुने सजाय निर्धारणको छुट्टै सुनुवाइतर्फ छ,’ उनले भनिन् ।

 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

पाण्डे सञ्चालक रहेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी उक्त प्रतियोगिताको आयोजक थियो । ती किशोरीका अनुसार आयोजकले उनलाई सफलताको पार्टीका लागि भन्दै बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएका थिए । त्यहाँ पार्टी दिने भनिए पनि ती किशोरी पुग्दा सञ्चालकबाहेक अन्य कोही थिएनन् । ‘वेलकम ड्रिंग भन्दै वेटरले दिएको ‘लेमनेड’ पिएको केही बेरपछि झुम्म भएको, त्यसपछि आराम गर्न भन्दै आफूलाई कोठामा पठाइएको र पाण्डेले बलात्कार गरेको ती किशोरीको भनाइ थियो । घटना हुँदा पीडित १६ वर्षकी थिइन् ।

प्रचलित कानुनमा बलात्कार मुद्दामा एक वर्षसम्म मात्र हदम्याद रहेकाले पीडित युवतीले न्याय पाउने बाटो बन्द भएको ठानिएको थियो । त्यसैले घटना सार्वजनिक गरेको अर्को दिन पीडितले ‘सुसी खान जाने हो’ नामको टिकटक अकाउन्टबाट भक्कानिँदै भनेकी थिइन्, ‘यो कस्तो नियम हो नेपालको रु मलाई अहिले थाहा भयो, एक वर्षसम्म रिपोर्ट गरेन भने त्यो फाइल दर्ता भए पनि कोर्टले फिर्ता गरिदिन्छ रे । त्यसो भए के म पीडित होइन रु कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन् । म बोल्न सकिनँ ।’

तत्कालीन मुलुकी ऐनमा बलात्कारसम्बन्धी मुद्दामा ३५ दिनको मात्रै हदम्याद थियो । त्यसलाई संसद्ले २०७२ मा बढाएर ६ महिना पुर्‍यायो । २०७५ भदौ १ यता १ वर्ष थियो । अहिले हदम्याद बढाएर दुई वर्ष पुर्‍याइएको छ । सौन्दर्य प्रतियोगिताका नाममा पाण्डेले यौनशोषण गरेको घटना सार्वजनिक भएपछि हदम्यादसम्बन्धी कानुनी व्यवस्थामा धेरै कोणबाट प्रश्न उठेका थिए ।

त्यसपछि संसद्बाट पारित भएर असार ३१ मा राष्ट्रपतिले प्रमाणीकरण गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ ले हदम्याद बढाएको छ । त्यसमा बालबालिकाविरुद्ध यस्तो अपराध भए पीडित बालबालिका १८ वर्ष पुगेको तीन वर्षभित्र, त्यस्तो अपराध पूर्ण अशक्त, अपांगता भएका, सुस्त मनस्थिति भएका र ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका विरुद्ध भए तीन वर्षभित्रमा र अन्य व्यक्तिका हकमा २ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ ।

पाण्डेले आफूलाई पटक–पटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन् । आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनलाई न्याय प्राप्तिका लागि हदम्याद तगारो बनेपछि प्रेस, सडक र संसद्मा समेत बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि उत्पन्न परिस्थितिले व्यवस्थापिकालाई हदम्यादसम्बन्धी कानुन बदल्न बाध्य पारेको हो ।

बलात्कार मुद्दा दर्ता गर्नका लागि हदम्याद बाधक भएपछि गत असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । कुनै पनि व्यक्तिलाई शोषण गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने कार्यलाई नेपालको कानुनले मानव बेचबिखनको परिभाषामा समेटेको छ । ती युवतीलाई सुरुमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी विभिन्न ठाउँमा पुर्‍याएर निरन्तर शोषण गरेको कार्य मानव बेचबिखनअन्तर्गत पर्ने जिल्ला अदालतले मंगलबार ठहर गरेको हो ।