२०८१ बैशाख ६ , बिहिवार

संसद भवनबाट प्रधानमन्त्रीको गाडी निस्कनेबित्तिकै आत्मदाह प्रयास !

सुनाखरी न्युज/ काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।