२०८१ बैशाख ७ , शुक्रवार

‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ मा ४ नेपालीसहित १० जना संलग्न

सुनाखरी न्युज/ काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा सम्पन्न नेपाल टी-२० लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी १ जना नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको हो । प्रहरीका अनुसार स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेका थिए । जनकपुर रोयल्समा आबद्ध २० वर्षीय आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेका थिए ।

 

त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जनाएको छ ।

 

नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा
६ जना विदेशीमध्ये ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना बाहिरी व्यक्ति स्पट फिक्सिङ र लाइभ बेटिङमा संलग्न देखिएको सीआईबीको अनुसन्धानमा खुलेको छ । टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेसनमा निर्धारित रनमात्र बनाइ स्पट फिक्सिङ गरेको पनि सीआईबीले जनाएको छ ।

 

मुख्य प्रायोजकका रूपमा १एक्स बेटले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भन्ने दाबी गरेको पनि प्रहरीले जनाएको छ । त्यस्तै केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोतसमेत नखुलेको पनि सीआईबीले जनाएको छ ।

 

सीआईबीले विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको सीआईबीको निष्कर्ष रहेको छ । प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।