२०८१ जेठ ५ , शनिवार

रिटेल पेमेन्ट स्विचमार्फत रु. १८०० अर्बबराबरको कारोबार

सुनाखरी न्युज/ काठमाडौं । नेसनल पेमेन्ट स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत चालु आर्थिक वर्ष २०७९–८० को पुस मसान्तसम्म रु. १८०० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ। उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धि भएको छ।

त्यसैगरी कारोबार संख्याका आधारमा गत आर्थिक वर्षभन्दा २५% ले वृद्धि भएको छ। रिटेल पेमेन्ट स्विचको हाल दैनिक औसत रु. १३.३० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ। जसअन्तर्गत ६०% बराबरको कारोबार नेसनल पेमेन्ट इन्टरफेसमार्फत हुने गरेको छ। नेसनल पेमेन्ट स्विचअन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरुबीच अन्तरआबद्धता कायम गरिएको छ। आरपीएसअन्तर्गत फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरु बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेटहरु, कनेक्टआईपीएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआईमार्फत उपलब्ध रहेका छन्।

 

आरपीएसअन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआईमार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन्। ओपन एपीआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपीआईले आरपीएससँग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ सेवाहरु प्राप्त गर्न सक्दछन्। आरपीएसअन्तर्गत हालै भीपीएमा आधारित भुक्तानी, रिक्वेट टु पे, ई–म्यान्डेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपालपे क्यूआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पीएसओ सेटल्मेन्टलगायतका विभिन्न उपकरण उपलब्ध छन्।

 

आरपीएसमा हाल ५५ बैंक तथा वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन्। भुक्तानी कारोबार गरिने च्यानलका आधारमा प्रतिकारोबार रु. २० लाखसम्मको भुक्तानी तथा सोही बैंक तथा वित्तीय संस्थाको हकमा रु. १ करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ। आरपीएसअन्तर्गत रहेका कनेक्टआईपीएसको वेबमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार रु. २ लाखसम्मको कारोबार गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्टआईपीएसमा आफ्ना एक वा सोभन्दा बढी बैंक खाताहरु लिंक गरी एकै प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्दछन्।