२०८१ बैशाख ८ , शनिवार

अर्थ मन्त्रालयद्वारा १५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई परिपत्र

सुनाखरी न्युज/ काठमाडौं । सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९ र रुस तथा युक्रेन युद्धका कारण आर्थिक संकट बढ्दै गएपछि सरकारले खर्च कटौती गर्न लागेको हो ।

 

अर्थमन्त्रालयले विभिन्न १७ वटा शीर्षकमा खर्चमा मितव्ययिता अपनाउन मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै खर्च कटौती कार्यान्वयन गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा चालु खर्च घटाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै खर्चमा मितव्ययतिता अपनाउन झण्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ । अत्यावश्यक बाहेकका स्वदेशी र वैदेशिक भ्रमण तथा बोतलको पानीमा समेत अर्थले कडाइ गरेको छ । त्यस्तै, अर्थले लागु गरेको मापदण्डमा अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहित गर्ने उल्लेख छ ।

 

त्यस्तै, मन्त्रालयले अति आवश्यकबाहेकका सेमिनार, तालिम, गोष्ठी नगर्ने जनाएको छ । स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गर्दै नगर्दा पनि हुने कार्यक्रमलाई स्थगन गर्ने उल्लेख छ । सम्भव भएसम्म फर्निसिङलगायतका नयाँ सामान नकिन्न अर्थले सुझाएको छ । त्यस्तै, पत्रपत्रिका खरिद, पर्चाहरू छाप्न निरुत्साहित गरेको छ । त्यसैगरी, अत्यावश्यक विना एसी, हिटर र पंखा समेत प्रयोग नगन अर्थमन्त्रालयले माफदण्डमा उल्लेख गरेको छ ।