२०८१ जेठ ५ , शनिवार

माघ १५ गतेदेखि आइपिओ निष्कासन गर्दै मकर जितुमाया हाइड्रोपावर

IPO

सुनाखरी न्युज/ काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

 

कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरूमा ३ लाख ४ हजार कित्ता सेयर छुट्याएको छ। त्यस्तै, आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूमा १ लाख १४ हजार कित्ता सेयर वितरण गरिने कम्पनीले बताएको छ।

 

साथै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा भने स्थानीय बासिन्दाहरूले १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

 

सो आइपिओमा दुबै समूहका लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने स्थानीयले ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले बताएको छ। कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र आयोजना स्थल कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन लिंक मा गई आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।