२०८१ बैशाख ८ , शनिवार

प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने नेपाल टेलिकमको प्रतिबद्धता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ। कम्पनीले मंगलबार भएको सेवा अवरुद्धका विषयमा जानकारी दिन जारी विज्ञप्तिमा यस्तो प्रतिबद्धता जनाइएको हो।

 

‘भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई अविच्छिन्न र निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ।’मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुन गएको कम्पनीले जनाएको छ।

 

कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिए पनि छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासि अत्याधिक वृद्धि हुन गई नेटवर्क कन्जेसनका कारण केही समय कल आदान–प्रदानमा ग्राहकले असजिलोपन व्यहोर्नुपरेको कम्पनीले जनाएको छ। ‘यसरी प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, विज्ञप्तिमा भनिएको छ। यसका साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले आग्रह गरेको छ।