सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सभामुखको निर्वाचनका विषयमा छलफल गर्न बुधबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । सभापति देउवाले बुधबार विहान पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग त्यसबारे परामर्श गरेका थिए । बैठकले विपक्षमा रहेका दलहरूसँग गठबन्धन गरेर सभामुखमा उम्मेदवारी दिने गरी छलफल गर्ने निर्णय गरेको छ । यसबीचमा नेताहरूले विपक्षमा रहेका दलहरूसँग परामर्श गर्ने र उम्मेदवारको चयन हुने नेताहरूले बताएका छन् ।
‘कांग्रेसले सभामुख लिएर अर्को दललाई उपसभामुख दिएर गठबन्धन गर्ने सहमति हुनसक्छ,’ एक नेताले भने, ‘त्यसका लागि सभामुख र उपसभामुख फरक-फरक लिङ्गको हुनुपर्ने हुन्छ । हामीले दलहरूसँग छलफल गरेर उम्मेदवारको टुंगो लगाउँछौँ ।’ती नेताका अनुसार दलको बैठकले सभामुखको उम्मेदवार चयन गर्नेछ ।