सुनाखरी न्युज/ काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट होटल संघ नेपाल र यस अन्तर्गत देशैभर रहेका क्षेत्रीय संघ संस्था स्तब्ध भएका छौं । यस शोकको घडीमा दुर्घटनामा दिवंगत भएका यात्रुहरु तथा चालक दलका सदस्यहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
यस किसिमको बारम्बारको दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह भएको हुँदा यसबाट हवाई क्षेत्रमा मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने निश्चित छ । नेपाली आकाश सुरक्षित बनाउनु राज्यको कर्तव्य र हामी सबै सरोकारवालाहरुको दायित्व हो ।
आगामी दिनमा यस प्रकारका दुर्घटना हुन नदिन सुरक्षित यात्राको प्रत्याभूति दिलाई हवाईजहाज तथा हवाई यातायात व्यवस्थाको सुरक्षा मापदण्डलगायत नियमित परीक्षण प्रभावकारी रुपमा कार्यान्वयन गर्दै यात्रु सुरक्षामा कुनै पनि कमी कमजोरी हुन नदिन ‘पूर्ण सुरक्षा व्यवस्था’को माग गरेको छ ।
साथै, नियमित परीक्षणका लागि उड्डयन क्षेत्रमा दक्षता हासिल गरेका अन्तर्राष्ट्रिय स्तरमा स्थापित संथाबाट हुन सके प्रभावकारी रहने हामी पर्यटन व्यवसायीले ठानेका छौं र गठित छानविन समितिले निर्मम र सुक्ष्म ढंगबाट अध्ययन गरी प्रभावकारी प्रतिवेदन प्रस्तुत गर्ने हाम्रो अपेक्षा छ । मानवीय, प्राविधिक तथा प्रक्रियागत कुनै त्रुटि भएको भए आगामी दिनमा यसलाई सुधार र कार्यान्वयन गर्न हामी सरकार तथा सम्बद्ध सबैमा जोडदार माग गरेको छ ।