२०८१ बैशाख १४ , शुक्रवार

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ।

 

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच यो अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरेका हुन्। सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो।

 

यो माघ महिनाभरि बीमा शुल्कको नविकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ। भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इअरबड्स प्रदान गरिनेछ। त्यसैगरी पहिलोपटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्णलाई रु. १०० क्यासब्याक प्रदान गरिनेसमेत कम्पनीले जनाएको छ।

 

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आईपीएस, आईएमई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ। यस कम्पनीका ग्राहकले घरै बसी–बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुका साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गरे। आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेकोसमेत पराजुलीले बताए।

 

२०७९ असोज मसान्तसम्ममा कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।