२०८१ बैशाख २३ , आइतवार

हवाई दुर्घटना संगै रोकिएको पोखरा महोत्सव सोमबारदेखी पुन सञ्चालन हुने

सुनाखरी न्युज/ पोखरा । पोखरा महोत्सवमा माघ दुई गतेका पूर्व निर्धारित कार्यक्रमहरु निरन्तर हुने भएको छ । पोखरा महोत्सवको पांचौ दिन पोखरामा जहाज दुर्घटनाका कारण शोक मनाउदै महोत्सवका सम्पूर्ण गतिविधीहरु स्थगित गरिएपनि छैठौ दिन सोमबार भने पूर्वनिर्धारित तालिका अनुसार नै पोखरा महोत्सव सञ्चालन हुने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

सुनारले भने पोखरामा हवाइजहाज दुर्घटना भएको जानकारी पाउना साथ महोत्सवलाई स्थगित गरेकोमा हामीले दर्शक प्रति क्षमा प्रार्थी छौ । महोत्सवलाई साथ दिने दर्शकहरुप्रति पुग्न गएको असुविधा प्रति क्षमा प्रार्थी रहेको आयोजकले जनाएको छ । महत्वपूर्ण पर्व माघीको दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहदा रहदैपनि पोखरामा हवाइ दुर्घटना भएको र त्यसको खोजतलासमा सम्पूर्ण महानगर लागि परिरहदा आयोजकले दर्शकहरुको उल्लेख्य सहभागीता बीच पनि महोत्सवलाई स्थगित गर्न पर्दा दर्शकहरुप्रति पर्न गएको असुविधा प्रति आयोजक स्तब्ध बनेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

 

हवाइ जहाज दुर्घटनामा परेका सम्पूर्ण दिवंगत प्रति श्रद्धा सुमन गर्दै महोत्सवलाई सोमबार देखी निरन्तरता दिइने भएको छ । महोत्सवको छैठौ दिन देखी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार ज्ञान गंगा विद्यापीठ, श्री जनबल सेकेण्डरी स्कुल, न्यू ग्यालेक्सी सेकेण्डरी स्कुल र भ्यु प्वाइन्ट बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी महोत्सवको स्टेजमा सोमबार नेवारी संस्कृति झल्कने कुमारी नृत्यको प्रस्तुती रहने छ ।

 

महोत्सवको छैठौै दिन महोत्सवमा लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, प्रशान्त तामाङ, शान्ति डोटेल, नविना सुवेदी, नारायण सुनार, तुलसा जिसी, सन्तोष सुवेदी लगायको प्रस्तुती रहनेछभने साझको लाइभ कन्सर्टतर्फ छेवाङ लामाको प्रस्तुती रहने आयोजकले जनाएको छ ।