२०८१ बैशाख ७ , शुक्रवार

स्वास्थ्य बीमा बोर्डले मंसीरसम्ममा ५ अर्ब ५९ करोड भुक्तानी गर्यो

New Note

सुनाखरी न्युज/ काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको मंसिरसम्ममा ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षमा चार पटक गरी बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई सो बराबरको रकम भुक्तानी गरेको हो ।

 

बाेर्ड संञ्चालक समितिको पुस २५ गते बसेको बैठकको सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार बोर्डले सेवा प्रदायक संस्थाहरुलाई चौथो पटक एक अर्ब १८ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, दोस्रो पटक ६६ करोड ८१ लाख रुपैयाँ, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख रुपैयाँ र चौथो पटक १ अर्ब १८ करोड ६ लाख रुपैयाँ गरी ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

 

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितहरुको दाबी रकम बीमा बोर्ड मार्फत सेवा प्रदायक संस्थाहरुलाई उपलब्ध गराएको हो । सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।