२०८१ जेठ ५ , शनिवार

माघे संक्रान्ती लागेसँगै तरुल र चाकुको व्यापार फस्टायो

सुनाखरी न्युज/ काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ ।

 

तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ छ । कालीमाटीमा तरकारी व्यापार गर्दै आउनुभएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तीको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफा घाटाको बारेमा भन्न सकिने बताए । उनले मानिसहरु कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने बताए । उनले अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरुबाट तरुलहरु धेरै आइरहेको बताए ।

 

त्यस्तै कालीमाटी तरकारी तथा फलफूल बजारमा नै काँक्रोको व्यापार गर्दै आउनुभएकी अप्सरा सिलवाल भने अरुबेला काँक्रो मात्रै व्यापार गर्ने भएपनि यस पटक भने सिजन रहेकाले तरुल मगाएर व्यापार गरेको बताइन् । उनले माघे संक्रान्तीका लागि आफूले नवलपरासीबाट २ गाडी तरुल ल्याएको बताइन । उनले गत वर्ष र यस वर्ष तरुलको भाउमा फरक नरहेको प्रष्ट पारिन् ।

 

उनले यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने शंका रहेको बताइन । उनले पछिल्लो केही दिन यता तरुलहरु बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने बताइन् । यदी बाहिरबाट तरुल ल्याउन नदिएको खण्डमा भने महंगो पर्नसक्ने बताइन् । माघे संक्रान्ती नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ । चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरु बताउँछन् । माघे संक्रान्तीको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ती पर्व मनाउने गरिन्छ ।