२०८१ बैशाख ७ , शुक्रवार

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई शपथ ग्रहण गराउनुभएको हो ।

 

मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नु भएको छ । मुख्यमन्त्रीको सिफारिसमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबारनै शपथ ग्रहण गराइएको छ । एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बन्नुभएको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाले जिम्मेवारी पाउने मन्त्रालय पछि तोकिने भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको हो । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । यस प्रदेशमा एमालेको २७ जना, माओवादी केन्द्रको २१ जना, राप्रपाको १३ जना, एकीकृत समाजवादीको सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।