२०८१ बैशाख ८ , शनिवार

स्रोत नखुलेको रकमसहित दुई हुण्डी कारोबारी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइृबी) ले सप्तरीबाट स्रोत नखुलेको रकमसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिका–९ देउरी बस्ने ३२ बर्षीय रामबिलास साह तेली र सोही नगरपालिका–७ बस्ने ५० बर्षीय मायानन्द झा रहेका छन् ।

 

उनीहरुको साथबाट ५२ लाख ८९ हजार ५०० रुपैयाँ, मोबाईल सेट दुई थान र हिसाब लेखिएको कापी पाँच थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोठामा रहेको खाँटमाथि कपडाले छोपेर राखिएको २८ लाख ८९ हजार रुपैयाँ, सोही कोठामा बसिरहेका साहको साथबाट १५ लाख रुपैयाँ र झाको साथबाट ९ लाख समेत गरी जम्मा ५२ लाख ८९ हजार ५ सय नेपाली रुपैयाा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

 

बोदेबसाईन–५ स्थित बरसाईन बजारमा कोठा भाडा दिई बस्ने व्यक्तिहरुले नेपाली रुपैयाँको अवैध (हुण्डी ) कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो काठमाण्डौं र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।