२०८० चैत्र १६ , शुक्रवार

जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?

सुनाखरी न्युज/ काठमाडौं । निमोनियाका कारण बालबालिकाहरू विशेषगरी प्रभावित हुने गरेका छन् । विश्वमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । त्यही कारण हामीले जाडोयाममा बच्चालाई चिसोबाट जोगाउनुपर्छ ।

 

बिहान–बेलुकी सकेसम्म बाहिर नपठाउने, पठाउनैपरेको अवस्थामा चिसोबाट बच्ने गरी न्यानो कपडा लगाइदिने गर्नुपर्छ । बच्चालाई प्रदूषित ठाउँमा जान दिनुहुँदैन । खाना खानुअघि हात धोइदिनुपर्छ । झोलिलो पदार्थ पटक–पटक खुवाउनुपर्छ । खोकी लागेका वेला पानी उमालेर मनतातो बनाएर पिउन दिनुपर्छ । उच्च ज्वरो आउने, कामज्वरो आएको महसुस हुने, सास फेर्न गाह्रो हुने, श्वासप्रश्वास छिटो–छिटो चल्ने, अक्सिजनको मात्रा कम हुने, बेचैनी महसुस हुने, खान मन नगर्नेलगायत समस्या देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 

नवजात शिशुका हकमा ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । ६ महिनापछि आमाको दूधसँगै अन्य पौष्टिक तत्वसमेत खुवाउनुपर्छ । सरकारले बालबालिकालाई दिने भनेर निर्धारण गरेका सबै खोप अनिवार्य लगाइदिनुपर्छ । यसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।