२०८१ बैशाख १२ , बुधवार

सौगातको इन्ट्री ‘भष्मे डन’मा

सुनाखरी न्युज/ काठमाडौं । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’ मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको फिल्म ‘भष्मे डन’ मा अभिनेता सौगात मल्ल भित्रिएका छन् ।

 

फिल्ममा उनी मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । फिल्ममा विपिन कार्कीले भष्मे डनको भूमिका निर्वाह गर्दैछन् । ‘पशुपति प्रसाद’ कै निर्देशक तथा लेखक दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्ममा सौगातको भूमिका कस्तो भने अहिले सार्वजनिक गरिएको छैन । फागुन १२ गतेबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्ट ‘रि–राइट’को चरणमा रहेको छ । फिल्मको लेखन खगेन्द्र लामिछानेले गरिरहेका छन् ।

 

‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट ‘भष्मे डन’ को कथाको उठान हुने निर्देशक दीपेन्द्र के खनालले बताए । तर उनले फिल्म पशुपति प्रसादको सिक्वेल नभएको खुलाए । काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर छायांकन हुने फिल्ममा ‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रविन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहनेछन् । खगेन्द्र लामिछानेको समेत अभिनय रहने फिल्म दीपेन्द्र र खगेन्द्रले मिलेर बनाउन लागेका हुन् ।