२०८१ बैशाख १३ , बिहिवार

मेक्सिकोमा एक समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जनाकाे मृत्यु, १८ घाइते

सुनाखरी न्युज/ काठमाडौं । मेक्सिकोमा लागूऔषध कारोबारीका नाइकेलाई पक्राउ गरिएपछि भड्किएको दङ्गामा ३ जना सुरक्षाकर्मी मृत्यु भएकाे छ ।

 

साेही घटनामा १८ जना घाइते भएका हुन् । अमेरिकामा आजीवन कैद सजाय भोगिरहेका लागूऔषध तस्कर क्याकिन एलचापो गुजम्यानका छोरा ओविदियो गुजम्यान लोपेजलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि हिंसा भड्किएको हो । तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जना सुरक्षाकर्मी मृत्यु भएको र घटनामा घाइते भएका १८ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ ।

आक्रोशित तस्कर समूहहरुले सडक अवरुद्ध गरेर थुप्रै सवारी साधनमा आगजनी गर्नुका साथै प्रान्तीय विमानस्थल समेत आक्रमण गरेका छन् । विमानस्थलमा प्रवेश गरेर उड्न लागेका दुई वटा विमानमा गोली प्रहार गरेपछि १ सय भन्दा बढी उडान रद्द गरिएका छन् । द माउस उपनामले चिनिने गुजम्यान लोपेजले आफ्ना बुबा एलचापोको तस्करी समूहको नेतृत्व गर्दै आएको र सोही समूह विश्वका ठूला तस्कर समूह मध्ये एक भएको मेक्सिको सरकारले जनाएकाे छ ।

 

यो समूहले मासिक १३ सय देखि २२ सय किलो लागू पदार्थ उत्पादन गर्ने गरेको अमेरिकी अधिकारीहरुको दावी छ । अमेरिकाले गत महिना गुजम्यान लोपेज र उनका ३ जना दाजु र भाइलाई पक्राउ गर्नका लागि ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर अमेरिकी नेतृत्व सम्मेलनका लागि मेक्सिको जाने दुई दिन अघि तस्कर नाइकेलाई पक्राउ गरिएको छ ।