२०८१ बैशाख ११ , मंगलबार

‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को पाचौँ संस्करण सुरु

सुनाखरी न्युज/ काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज जनवरी ५ तारेखका दिन काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विजको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को पाँचौं संस्करण सुरु गरेको छ।

 

 

आज सम्पन्नटुरिजम तथा हस्पिटालिटी क्विजप्रतियोगितामा ग्लोबल कलेज इन्टरनेशनल का विद्यार्थीहरु सुश्री छिरिङ ठोकर, विजयकुमार चौधरी र इशान नेपालले प्रथम स्थान हासिल गरेका छन। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट ( विद्यार्थीहरु– अपिल महर्जन, क्षितिज आचार्य र विवेक मिश्र) र मिडभ्याली इन्टरनेशनल कलेज (विद्यार्थीहरु– सुश्री क्रिस्टिना पर्साई, चन्द्रप्रकाश कुँवर र सुश्री दावा जाङ्मु शेर्पा ) प्रतियोगिताको प्रथम र दोस्रो उपविजेता बनेका छन।

 

 

पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट को सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरू मनकामना केबलकार (सपोर्टिंग पार्टनर), नबिल बैंक (बैंकिङ पार्टनर), बुद्ध एयर (एयरलाइन्स पार्टनर), हाईग्राउन्ड एडभेन्चर र ट्रेकिङ भेन्यू नेपाल (एडभेन्चर पार्टनर्स), केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, सेभेन लेक्स रिसोर्ट र चन्द्रागिरि हिल्स रिसोर्ट ( हस्पिट्यालिटी पार्टनर्स), कम्युनिटी होम्स्टे नेटवर्क (कम्युनिटी टुरिज्म पार्टनर) लगायत मिड–भ्याली, नाथम र लिटिल एन्जलस कलेज (भेन्यु पार्टनर्स) को सहयोग तथा समन्नवयमा पाचौं युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ। पाँचौं युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गतको अर्को कार्यक्रमहरु पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता यही जनवरी ७ तारेखमा नाथम कलेजमा आयोजना हुनेछ।

 

पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।