२०८१ बैशाख ७ , शुक्रवार

हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने

सुनाखरी न्युज/ काठमाडौं । हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरका लागि सम्बन्धन प्राप्त भएपछि जिल्लामा पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन हुने भएको हो।

 

क्याम्पस प्रमुख दीपक भण्डारीले यसै शैक्षिक सत्रबाट पठनपाठन हुने गरी त्रिविबाट शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहको सम्बन्धन पाएको जानकारी दिए। अहिले प्रवेश परीक्षाका लागि आवेदन खुलेको छ। जसका लागि माघ ४ गतेसम्मको समय तोकिएको छ। माघ १४ गते प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ।

 

प्रवेश परीक्षा पास हुने विद्यार्थीले माघ १९ गतेदेखि २२ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ। माघ २२ गतेबाट कक्षा सञ्चालन हुने छ। २०६६ सालमा स्थापना भएको उक्त क्याम्पसमा २०६७ सालबाट पठनपाठन सुरु भएको थियो। यसअघि स्नाकोत्तर तहको पढाइ जिल्लामा नहुँदा विद्यार्थीहरु सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँलगायतका सहरमा जानुपर्ने बाध्यता थियो।