२०८० चैत्र १६ , शुक्रवार

एक दशक बित्यो अझै सम्पन्न हुन सकेन टेकुस्थित विष्णुमति पुल

सुनाखरी न्युज/ काठमाडौं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैँदेखि पुल अलपत्र छ ।

निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले ठेक्का तोड्ने निर्णय गरे पनि यस सम्बन्धमा अदालतको निर्णय पछि प्रक्रिया अघि बढाइने कार्यालयका सूचना अधिकारी सुनित केसीले बताए। उनले भने, “हामीले प्राविधिक पक्षलाई हेरेर ठेक्का तोडेको हो अदालतको निर्णय के हुन्छ त्यहीअनुसार गर्नुपर्छ ।”पुल निर्माण हुँदा त्रुटि भएकाले डिभिजन सडकले निर्माण कम्पनीलाई सचेत गराएको सूचना अधिकारी केसीले बताउनुभयो । त्यतिबेला अध्ययन गर्दा सुपर स्ट्रक्चर (डेक्स स्लाप) मा समस्या पाइएको थियो ।

डिभिजन सडक कार्यालयले समस्या भएको ठाउँमा सच्याउन भने पनि त्यसविरुद्ध निर्माण कम्पनी अदालती प्रक्रियामा गएको र पछि कार्यालयबाट ठेक्का तोडेको उनले बताए। उनले भने, “डिभिजनले ठेक्का तोडेपछि कम्पनीले ठेक्का तोड्न र कालोसूचीमा राखिएको विरुद्ध अर्को मुद्दामा गयो ।” पुल प्राविधिक रुपमा त्रुटिपूर्ण भएकाले त्यो तोडेर नयाँ बनाउनुपर्ने भनिएपछि कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेपछि कम्पनी सर्वोच्चमा गएको थियो । उनले भने, “अन्तिम फैसला आएपछि नै कसरी अघि बढ्ने भन्ने निर्णय हुनसक्छ ।” पुल निर्माणका लागि आर्थिक वर्ष २०६९–७० को ठेक्का सम्झौता भएको थियो ।