२०८१ बैशाख १३ , बिहिवार

दूधको मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई लेख्यो पत्र

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले मूल्यवृद्धिको एक वर्ष नबित्दै फेरि दूधको मूल्य बढाउनु गैरकानुनी रहेको भन्दै फिर्ता गराउन प्रधानमन्त्रीलाई पत्र नै लेखेको छ ।

 

मञ्चले दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दूग्धजन्य पदार्थको अचाक्ली मूल्य बृद्धि भएकोतर्फ ध्यानाकर्षण गराउँदै डेरी एसोसिएसन लगायत डेरी उद्योगहरुमाथि कारवाही गर्न समेत माग गरेको छ । मञ्चले राष्ट्रिय दूग्ध उत्पादक सहकारी संघ राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई एक्कासी नेपाल डेरी उद्योग संघले उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ कायम गर्नुलाई गैरकानुनी भनेको छ ।

 

पत्रमा नेपाल डेरी उद्योग संघ र संघ आबद्क डेरीहरुले लिटरमै १४ रुपैयाँ भाउ बढाएकोले उपभोक्तालाई ठूलो आर्थिक भार पर्न गएको उल्लेख गरिएको छ सार्वजनिक रुपमा दूधको मूल्य बढाएर उपभोक्ता ठग्ने काम गरिएको आरोप लगाएको छ । पत्रमा भनिएको छ ‘२०७८ माघ महिनामा ६० रुपैयाँ प्रतिलिटरबाट बढाएर ८६ रुपैयां गरेको एक वर्ष पनि नपुग्दै प्रति लिटरमा नै १४ रुपैयाँ बढाउने निजी क्षेत्रको यो दुष्कार्य राष्ट्रिय दूग्ध ऐन र नीति नियम विपरित भएको व्यहोरा अनुरोध गर्दै एक पटक मूल्य बढाएको मितिले कम्तिमा दुई वर्ष मूल्यवृध्दि गर्न नपाउने नियम निजी क्षेत्रले उल्लंघन गरेको छ ।’

 

सरकारले मूल्यवृद्धि गर्दा कृषकहरुलाई उचित मूल्य नपाएको, लागत मूल्य बढेको तथा संस्थानको सञ्चालन खर्च बढेको दावी गरेता पनि त्यसमा कुनै सत्यता नभएको मञ्चको दाबी छ । मञ्चले मूल्यवृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी काम गरेकोमा आवश्यक कानुनी कारवाही गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।