२०८२ चैत्र ६ , शुक्रवार

आज पौष १६ गते, ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

Kiran Giri 450300

किरण गिरी । आज पौष -१६ गते – ४७ सौं मेलमिलाप दिवस । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस”का रुपमा मनाउने गरिन्छ ।

 

पुस १६ गते २०३३ साल, नेपाली काँग्रेस तथा नेपालको लोकतान्त्रिक आन्दोलनले कोल्टे फेरेको महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ हो । आफूमाथि आठवटा खतरनाक मुद्दाका तरबार झुन्डिएको परिस्थितिलाई एकातिर पन्छाउँदै, जननायक बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह लगायत नेपाली कांग्रेसका मूर्धन्य नेताहरू आठवर्ष लामो भारत निर्वासन त्यागेर स्वदेश फर्केको दिन त फगत एउटा घटना भयो l त्यसपछिका दिनमा सुरु भएको लोकतान्त्रिक आन्दोलनकारी राजनीतिको तरङ्गले तत्कालीन पञ्चायत व्यवस्थामा असाधारण कम्पन सुरु गरेको दिन थियो त्यो । त्यसपछि पञ्चायत व्यवस्था प्रतिरक्षात्मक अवस्थामा पुग्न नेपाली काँग्रेसका राजनीतिक कदम एकपछि अर्को उपलब्धिमूलक हुनु नै पुस १६ प्रस्थान विन्दु भएको प्रमाण थियो ।

 

 

काँग्रेसको जीवनमा क्रान्ति, आन्दोलन र सत्ता सञ्चालन जति नै मेलमिलापको राजनीतिले पनि स्थान लिँदै आएको छ । उल्लेखनीय छ, मेलमिलापको राजनीति, लोकतन्त्रले जति निर्देशित छ, त्यत्तिकै राष्ट्रिय एकताको भावनाबाट पनि उत्प्रेरित रहेको छ । २०३३ सालमा बीपीले समकालीन अन्तर्राष्ट्रिय परिस्थितिमा मेलमिलापको कदमको नेतृत्व गर्नुभयो, त्यसको वस्तुगत र गुणात्मक परिस्थिति आज पनि भिन्न छैन , अझ जटिलता र चुनौती थपिएका छन्। त्यो बेला अमेरिका र सोभियत सङ्घको बीच शीतयुद्ध पराकाष्ठामा पुगेको थियो । भारतमा इन्दिरा गान्धीको दबदबा तथा सङ्कटकालीन स्थितिको घोषणाको अवस्था थियो । शीतयुद्धकै सिलसिलामा विकासोन्मुख मुलुकहरूका लागि आफ्नो अस्मिता जोगाउने ठुलो चुनौती आइरहेको थियो । नेपालको शान्ति क्षेत्र प्रस्ताव बाह्य खतरा र चुनौती बोधको परिणति थियो । बंगलादेशको उदय, सिक्किमको विलय, अफगानिस्तानमा तत्कालीन सोभियत सङ्घको ब्युहरचनामा सत्तापलट, गृहयुद्ध र सोभियत सेनाको उपस्थिति आदि घटनाक्रमले दक्षिण एसिया तनावग्रस्त अवस्थामा थियो । आज त्यो परिस्थिति अमेरिका–चीनका बीचको शीतयुद्धको रूपमा झन् नजिकै देखा परेको छ । दुई छिमेकी भारत र चीनमा बढ्दो शक्तिको होडबाजी र युद्ध स्तरीय द्वन्द्वको खतरा मडारिएको छ ।

 

 

पश्चिमा मुलुकमात्र होइन, जापान, दक्षिण कोरिया, ताइवान, भियतनाम, थाइल्यान्ड, भारत, अस्ट्रेलिया जस्ता महत्त्वपूर्ण मुलुकहरूमा युद्धको खतरालाई प्रतिरोध गर्ने रणनीतिक तयारी पनि सँगसँगै चलिरहेको अवस्था छ । हिजोको सित युद्धको केन्द्र युरोप थियो भने आज टड्कारो रूपाबाट दक्षिण एसिया र एसियाको प्रशान्त क्षेत्र र अझ बढी नेपाल आजको शीतयुद्धको स्थल बन्दै छ । आणविक शक्ति सम्पन्न दुई ठुला छिमेकीको बीचमा अवस्थित नेपालजस्ता विपन्न मुलुक शक्ति राष्ट्रको रणभूमि बन्ने खतरा त्यति नै बढिरहेको छ । शक्ति राष्ट्रहरू आपसको युद्ध आफ्नै भूमिमा होइन, तेस्रो मुलुकमा लड्ने गर्छन् भन्ने तीतो धरातलीय वास्तविकतालाई हामी सबैले आत्मसात् गर्नुपर्छ । नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) ले २०१९ सालमा आईसब्रेक गर्नुभएको मेलमिलापको प्रयासलाई २०२५ सालमा काँग्रेसका तत्कालीन सभापति सुवर्ण शमशेरले निरन्तरता दिनुभयो । तर २०३३ सालमा आएपछि बीपीको जोखिमपूर्ण प्रयासले मात्र मेलमिलापले सार्थकता पायो । राष्ट्रिय मेलमिलाप दिवसलाई एकल घटनामात्र नमानी यसको साङ्गोपाङ्ग महत्त्व, दूरगामी प्रभाव र आजको परिस्थितिमा यसको औचित्य र सान्दर्भिकताबारे हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।

 

 

बिपीद्वारा प्रतिपादित मेलमिलाप सर्वप्रथम नेपाली कांग्रेस र यसको नेतृत्वले बुझ्नु र कार्यान्वन गर्नु जरुरी छ। मेलमिलाप भनेको सहअस्तित्व हो कसैले कसैसँगको आत्म समर्पण होइन, सम्यक् र न्यायोचित सम्मान तथा सहभागिता नै यसको आधार हो। सर्वप्रथम आफू भित्र र सम्पूर्ण राष्ट्रिय शक्तिहरू बीचको एकता आजको राष्ट्रीय आवश्यकता हो। यतातिर उत्प्रेरित र समय सापेक्ष पद चिह्न ग्रहणको उत्प्रेरणा लिन सार्थक बन्ने सकौँ। मेलमिलापका प्रणेता बीपीप्रति हार्दिक नमन तथा सबैमा मेलमिलाप दिवसको शुभकामना। लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।