२०८१ बैशाख ८ , शनिवार

सत्ता गठबन्धनको बैठक बस्दै, शक्ति बाँडफाँड र सरकारको रणनीतिबारे छलफल हुने

सुनाखरी न्युज/काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

 

बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने भएको हो । बैठकमा उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश मुख्यमन्त्री लगायतका पदहरु विभाजन हुने जनाइएको छ । काँग्रेस सँग गठबन्धन तोडेको नेकपा माओवादी केन्द्रले एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री पद पाएको छ । तर अझै अन्य धेरै पदहरु भागबण्डा गर्न बाँकी नै छ ।

 

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शक्ति बाडफाँडका सम्बन्धमा प्रारम्भिक छलफल भएको थियो । यद्यपि गठबन्धनमा ७ दल भएका कारण सत्ता गठबन्धनको बैठकबाट निश्कर्ष निकालिने भएको छ । प्रारम्भिक छलफल अनुसार राष्ट्रपति एमालेले पाउने भएको छ । त्यस्तै उपराष्ट्रपति माओवादी केन्द्रले लिने अनौपचारिक सहमति थियो । त्यस्तैगरी चार प्रदेशको नेतृत्वमा एमाले, दुई वटा प्रदेशमा माओवादी केन्द्र र मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल लिने भन्ने अनौपचारिक निश्कर्ष निकालिएको छ ।

 

उता एमालेको भागमा परेपछि सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतले राष्ट्रपतिको चाहना देखाएका छन् । त्यस्तै सभामुख पनि एमालेकै भागमा परेको छ । सभामुख पदका लागि छविलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराईमध्ये एकलाई पठाउने तयारी छ ।