२०८० चैत्र १५ , बिहिवार

१४ वर्षीय बालकलाई अपहरण गरी हत्या गरेको घटनामा संलग्न दुई जना पक्राउ

सुनाखरी न्युज/पर्सा । वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरज कुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१७ अलौ ठेगाना भएका २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका-१ घोडादौडपिप्रा ठेगाना भएका ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन् । मंसिर ८ गते दिउँसो वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलबाट अपहरित पासवानको शव वीरगंज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्र पुस १० गते बेलुका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई वीरगंज महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा फिरौती रकम असुली गर्न तथा अपहरित पासवानको हात खुट्टा र मुखमा पटी बाँधी राखेकोमा पासवानले डोरी फुकाई भाग्न खोजेकोले अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले उनीहरूले हत्या गरेको खुल्न आएको छ ।

 

उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर)मा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।