२०८१ बैशाख १४ , शुक्रवार

आफैले गाडी हाँकेर पूर्वराजारानी चितवन हान्निए

 

सुनाखरी न्युज/काठमाडौं । पूर्व राजारानी ज्ञानेन्द्र र कोमलसहितको टोली चितवनतर्फ लाग्नु भएको छ । आज बुधवार बिहान बाराको सिमरा बिमानस्थलमा ओर्लिएको टोली महेन्द्र राजमार्ग हुँदै चितवनतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

भ्रमणका क्रममा पूर्वपश्चिम राजमार्ग नजिकै रहेको मनहरी गाउँपालिका ८ स्थित आमाघर आश्रममा उहाँहरु पस्नु भएको थियो । ‘१० मिनेटजति आमाघर आश्रममा पूर्व राजारानीले समय दिनुभयो’, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले भन्नुभयो–‘भ्रमणका क्रममा आमाघर आश्रम हेर्ने चाहना भएकाले उहाँहरु पस्नु भएको हो, पूर्व निर्धारित औपचारिक कार्यक्रम होइन ।’आमाघर आश्रमको अवलोकनपछि चितवनतर्फ पूर्व राजारानीको टोलीलाई सहज रुपमा पठाइएको मकवानपुरका एसपी बामदेव गौतमले बताउनुभयो । ‘चितवन जाने भन्नेसम्मको जानकारी छ, कहाँ बस्नुहुन्छ, के का लागि आउनुभयो भन्ने जानकारी हामीलाई छैन ।’, एसपी गौतमले भन्नुभयो ।

 

पूर्व राजा ज्ञानेन्द्रले आफैले गाडी चलाएर आउनु भएको र सबैलाई नमस्कार गर्दै आमाघर अवलोकन गरेर फर्कनु भएको मनहरी गाउँपालिका ८ नं वडाध्यक्ष नारायण उप्रेतीले बताउनुभयो । मनहरी गाउँपालिका ८ सिमपानीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आमाघर आश्रम निर्माण गरी सञ्चालनमा ल्याएको छ । आमाघरमा सहाराविहिन र घरपरिवारबाट बिरक्तिएका आमाहरुलाई आश्रय दिने उद्देश्य राखिएको छ । पूर्व राजारानीको आगमन हुँदा आश्रममा रातो कार्पेट बिछ्याइएको थियो ।