२०८१ बैशाख ११ , मंगलबार

पशुचौपायामा देखिएको रेबिज सङ्क्रमण नियन्त्रणमा

सुनाखरी न्युज/काठमाडौं । काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो । गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो ।
केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताए ।मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ । उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका  छन् । यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ ।
कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ । डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ ।