२०८१ बैशाख ८ , शनिवार

किन अनिवार्य बन्दैछ हाइड्रा फेसियल

सुनाखरी न्युज/काठमाडौं । छालालाई स्वस्थ, नरम र सुन्दर राखिरहनका लागि विभिन्न उपचार विधिहरू अपनाउने गरिन्छ । हामीले हरेक दिन छालालाई सफा, सुन्दर राख्न विभिन्न गतिविधिहरू गरिरहेका हुन्छौं । तिनै गतिविधिहरूमध्ये अहिले एउटा अत्याधुनिक गतिविधि हाम्रो जनजीवनसँग जोडिएको छ, त्यो हो- ‘हाइड्रा फेसियल ।’वास्तवमा छालालाई चम्किलो, नरम, सुन्दर तथा टाइट राख्नका लागि हाइड्रा फेसियल उपयुक्त विधि मानिन्छ । हाइड्रो भनेको पानी र फेसियल भनेको मसाज हो । यो मसाज विशेष प्रकारको मेसिनबाट गरिन्छ । हाइड्रा फेसियलमा एकैपटक ६ देखि ८ वटा विधिहरूमार्फत उपचार गरिने हुँदा यो सबै प्रकारका छालाका लागि उपयुक्त मानिन्छ ।

हाम्रो छालामा उमेरसँगै केही परिवर्तनहरू हुँदै जान्छ । यसलाई समयमै मेन्टेन गरियो भने उमेरअघि नै देखा पर्ने चाउरीपना, कालोपोतो अथवा दागबाट बच्न सकिन्छ । त्यसका लागि समय–समयमा हाइड्रा फेसियल गर्नु आवश्यक हुन्छ । छाला स्वस्थ राख्नका लागि गरिने सामान्य फेसियलमा छालालाइ सफा मात्र गर्ने काम हुन्छ भने हाइड्रा फेसियलमा एकैपटकमा छाला सफा गर्ने, छिद्रहरू खोल्ने, स्किन टाइट गर्ने, मोस्चराइज गर्ने तथा एन्टि एजिङ ट्रिटमेन्ट गर्ने गरिन्छ । त्यसैले एउटै सिटिङमा धेरै काम गर्न सकिन्छ यो फेसियलमा । हाइड्रा फेसियलमा ६ देखि ८ वटा प्रोबहरू प्रयोग गरेर फेसियल गरिने हुनाले छालालाई चाहिने मोस्चराइजर क्रिम पठाउनेदेखि एन्टिएजिङ र स्किन टाइटनिङसम्मको काम गरिने हुँदा धेरैले यसलाई रुचाएको पाइन्छ ।

 

सामान्यतया नियमित रूपमा गरिने हाइड्रा फेसियलले छालासम्म पोषकतत्व पुर्याउँदै छालालाई चाउरी पर्न नदिई विभिन्न विकारबाट बचाउँछ । यो जुनसुकै उमेरमा पनि गर्न सकिन्छ । तर अनुहारमा डन्डीफोर, घाउ, खटिरा अथवा एलर्जी छ भने त्यस्ता व्यक्तिले हाइड्रा फेसियल गर्न मिल्दैन । सामान्य भाषामा भन्ने हो भने हाइड्रो फेसन भनेको पानीले गर्ने फेसियल हो । यसलाई हामीले यसरी पनि बुझ्न सक्छौं । हाइड्रो अर्थात् पानी, फेसियल भनेको त नियमित रूपमा अनुहारको सरसफाइ भनेर बुझ्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा पानीको प्रयोग गरेर छालालाई सफा गर्ने कार्य नै हाइड्रा फेसियल हो ।

कसरी गरिन्छ हाइड्रा फेसियल ?

सबैभन्दा पहिला त अनुहारको छालालाई क्लिञ्ज गरिन्छ अर्थात् छालालाई राम्ररी सफा गरिन्छ । त्यसपछि फेसवासको प्रयोग गरेको छाला सफा गरिन्छ । सामान्यतया मानिसको छाला हरेक २८ दिनदेखि एक महिनामा टर्न ओभर हुन्छ अर्थात् नयाँ छाला आउने भन्ने हुन्छ । त्यसैले हाइड्रा फेसियलको पहिलो चरणमा फेसवासमार्फत छालामा भएको फोहोर, डेढ स्किनहरू, ब्ल्याक हेड्स आदिलाई स्क्रब गरेर हटाइन्छ । स्क्रबिङ गर्दा धेरै कुरामा ध्यान दिने गरिन्छ ।  यसले पनि छालालाई सफा गर्न सहयोग गर्छ । वेभ्सले छाला रिजेनेरेसन गर्न सहयोग गर्छ । त्यसपछि वाटर जेटझैं पानीको हाई फ्लोमार्फत छाला सफा गरिन्छ, सँग–सँगै नेगेटिभ सक्सन पनि गरिन्छ । अर्थात् पानीको फ्लोले छालालाई हाइड्रेड गरिन्छ । यो क्रममा पानीको प्रेसरले छालामा स्टिम्युलेसन गर्छ ।

 

ब्युटिपार्लरमा गएर फेसियल गर्दा जसरी हातले मसाज गरेर रगतको सर्कुलेसन बढाइन्छ, त्यसरी हाइड्रा फेसियलमा पनि पानीको सक्सनमार्फत रगतको सर्कुलेसन बढाइन्छ । यसले हाम्रो अनुहारको छालालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । हाइड्रा फेसियलको अन्तिम चरणमा सिरमहरू प्रयोग गरेर छालालाई सुन्दर देखाइन्छ । सामान्यतया १८ वर्षभन्दा बढी उमेरका जोकोहीले पनि हाइड्रा फेसियल गर्न सक्छ । तर, जसको अनुहारमा डन्डीफोर छ, छाला खस्रो छ भने उनीहरूले डन्डीफोर निको भइसकेपछि अथवा छाला नरम बनाएपछि मात्र हाइड्रा फेसियल गर्न सक्छन् । वास्तवमा हाइड्रा फेसियल मेडिकल ट्रिटमेन्टभन्दा पनि ब्युटी थेरापी हो । हाइड्रा फेसियलले अनुहारको छालामा आएको पोतो जाने, डन्डीफोर निको हुनेभन्दा पनि छालालाई रि–जेनेरेट गर्न सहयोग गर्छ । यो एक प्रकारको छालाको हेरचाह गर्ने अत्याधुनिक शैली हो भन्दा पनि फरक पर्दैन । एक जना व्यक्तिले महिनामा एकपटक हाइड्रा फेसियल गर्दा छालाले उचित हेरचाह पाउँछ ।