२०८३ भदौ २१ , आइतवार

आलु बेचेर ३३ करोड आम्दानी

सुनाखरी न्युज/ काठमाडौं । मुस्ताङले चालू आर्थिक वर्षमा कुल उत्पादनको ७० प्रतिशत अर्थात् ६ हजार ७ सय २२ मेट्रिकटन आलु निर्यात गरेको छ। यसबाट ३३ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको छ। जिल्लाको पाँचवटै स्थानीय तहको ३ सय १२ हेक्टरमा आलु खेती हुन्छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालू आर्थिक वर्षमा ९ हजार ६ सय ३ मेट्रिकटन आलु उत्पादन भएको छ।

 

कुल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि उपयोग हुन्छ भने १० प्रतिशत जिल्लामै खपत हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। मुस्ताङमा प्रतिहेक्टर क्षेत्रफलमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। बर्सेनि कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको औसत आलु उत्पादनको तथ्यांक संकलन गर्ने गरेको छ। केन्द्रका कृषि प्राविधिक, स्थानीय तह र सम्बन्धित कृषकको आलुबारीमा पुगेर तथ्यांक संकलन गर्ने गरिएको कार्यालय प्रमुख बस्ताकोटीले जानकारी दिए। प्रति १० वर्गमिटर क्षेत्रफलमा उत्पादन भएको आलुलाई क्रप कटिङ विधिबाट आलुको उत्पादकत्व मापन गरिने उनले बताए। हिमाली क्षेत्र, उच्च उचाइ र चिसो हावापानी उत्पादित मुस्ताङ्गी आलुको अन्य स्थानको भन्दा विशेष र फरक महत्त्व राख्दछ। मुस्ताङमा आलु खरिद गर्न जिल्ला बाहिर र स्थानीय व्यापारीले कृषकसँग समन्वय गर्छन्। मुस्ताङमा सडक यातायात सहज भएसँगै आलुको दरभाउसमेत बर्सेनि १० प्रतिशतले वृद्धि भइरहेको थकालीले बताए। गत वर्षको मंसिरदेखि फागुन महिनामा लगाएको आलु भदौ र असोज महिनामा निकालिएको हो।

 

हिमपातको चिस्यानले रोग र कीटाणु नष्ट गर्ने र भेडा—च्याङ्ग्रा र गोरु—झोपाको मल प्रयोग गरिने भएकाले मुस्ताङको आलु अर्गानिक ब्रान्ड बनेको हो। चिसो मौसमका साथै हिउँले सिञ्चित मुस्ताङको आलुबारीमा विभिन्न रोग संक्रमणसमेत हिउँ पानीले नियन्त्रण गर्ने भएकाले विषादीको प्रयोग गर्नु पर्दैन। मुस्ताङमा उत्पादित आलु कोसेलीको रूपमा पनि पर्यटकले खरिद गर्छन्। देशका ७७ वटै जिल्लामा आलु उत्पादन हुने भए पनि मुस्ताङ्गी आलुको फरक विशेषता छ। जुनसुकै तरकारीसँग सहजै समिश्रण गरी खान मिल्ने मुस्ताङ्गी आलुको सहर बजारको होटल तथा रेस्टुरेन्टमा पाइन्छ।