२०८१ जेठ ४ , शुक्रवार

प्रदेश तथा शाखा कार्यालयलाई पर्याप्त अधिकार दिन बिमा कम्पनीलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकारी विनियोजन गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

 

दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै बिमाप्रति आम जनसमुदायको विश्वास अभिवृद्धि गर्नका लागि पनि कम्पनीहरूका हरेक प्रदेश र शाखा कार्यालयहरू पर्याप्त अधिकारसहित कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।‘प्रदेश तथा शाखा कार्यालयहरू लाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, बिमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न, कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न निर्देशन दिइएको छ,’ अध्यक्ष सिलवालले भने । नेपाल बिमा प्राधिकरणको आयोजनामा गत सोमबार वीरगञ्जमा बिमासम्बन्धी समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

 

उनले बिमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बिमा ऐन, २०७९ बाट नै सम्बोधन हुने उल्लेख गर्दै संशोधित बिमा ऐनले नेपाल बिमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेको बताए । यही कारण अब बिमासम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । कार्यक्रममा सहभागीहरूले निर्जीवन बिमाअन्तर्गत बालबालिकाको बिमामा समस्या देखिएकाले जीवन बिमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बैंकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बिमा व्यवसाय बिमकलाई दिने परिपाटीले गर्दा बिमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको लगायत गुनासो गरेका थिए ।

 

यस्तै, बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बिमा अभिकर्ताहरूका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायहरूले बिमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बिमाको सिफारिस लिँदा झण्झट व्यहोर्नु परेकोलगायत गुनासो उनीहरूको थियो ।