सुनाखरी न्युज/ काठमाडौं । मलेसियाबाट काठमाडौं आएका अधिकांश यात्रुको सामान छुटेको छ। मलेसियन एयरलाइन्सको एमएच ०१७० नम्बरको जहाजबाट सोमबार काठमाडौं आएका यात्रुहरुको सामान छुटेको हो।
एयरपोर्टमा ओर्लिएर सामान लिन जाँदा छुटेको यात्रुले थाहा पाएका हुन्। आफ्नो सामान नपाएपछि आक्रोशित हुँदै उनीहरुले होहल्ला गरेका थिए। हल्लाखल्ला हुँदा समेत मलेसियन एयरलाइन्सका प्रतिनिधिहरु आएनन् । उनीहरुले यसबारे केही जवाफ पनि दिएका छैनन्। नेपाल एयरलाइन्सका कर्मचारीले भने सामान छुटेको र अर्को दिन सम्पर्क गरी आउनू भनेर लगेजको ट्याग दिएको मलेसियाबाट आएकी एक यात्रुले जानकारी दिइन्।
उनले सामान मेलवर्नमा छु्ट्यो कि मलेसिया आफूलाई थाहा नभएको बताइन्। सामान छुटेपछि यात्रुहरु विचल्लीमा परेका छन्। अपांगता भएका व्यक्तिको सामान छुट्दा उनीहरु थप पीडामा छन्। सामान छुटेका यात्रुहरुलाई नेपाल एयरलाइन्सले फाराम भर्न लगाए अर्धकट्टी दिएर पठाएको छ। अष्ट्रेलियाबाट मलेसियाहुँदै काठमाडौं आएका यात्रुहरुको सामान छुटेको हो।