सुनाखरी न्युज/ काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।
तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रु दुई लाख नगद, सम्मानपत्र सहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ।
केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन्। उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।