२०८१ बैशाख १४ , शुक्रवार

व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण जरुरीः राष्ट्रपति

सुनाखरी न्युज / काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ ।

 

हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोही अनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप तथा स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकला व्यवसायको संरक्षण गर्नु जरुरी रहेको धारणा राख्नुभयो । “हालको चुलिँदो व्यापारघाटालाई सन्तुलनमा ल्याउने लक्ष्य प्राप्तिका लागि हस्तकलाको निकासी बढाउनु आवश्यक छ,” राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसका निमित्त हस्तकलालाई व्यापक उत्पादनका तहसम्म पु¥याउँदै अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै प्रचार प्रसार गरिनुपर्छ ।”

 

राष्ट्रपति भण्डारीले स्वदेशी वस्तुको खपत बढाउन सरकारले सार्वजनिक निकायका लागि लागू गरेको १५ प्रतिशतसम्म महँगो भए पनि खरीद गर्नुपर्ने नीति तथा सार्वजनिक निकायले सकेसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत हस्तकला क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गर्न सकिने धारणा राख्नुभयो । नेपाली हस्तकलाका उत्पादनहरु मौलिक र सजिलै अरुले नक्कल गर्न नसकिने खालका रहेकाले यसको संसारभर विशिष्ठ महत्व रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसको उत्पादन कलालाई पुस्तान्तरण गरिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले विदेशी बजारमा वार्षिक १२ अर्बको निकासी रहेको हस्तकला क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पु¥याइरहेको बताउनुभयो । मुलुकको व्यापारघाटा कम गर्न तथा स्वदेशी साधन स्रोत उपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यसलाई राज्यले नीतिगत रुपमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । हस्तकला क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी वार्षिक कूल ८ लाख रोजगारी सिर्जना भइरहेको तथ्यांक पेश गर्नुहुँदै अध्यक्ष शाक्यले यस क्षेत्रको आर्थिक, सामाजिक तथा साँष्कृतिक पक्षमा योगदान झनै महत्वपूर्ण रहेको प्रकाश पार्नुभयो ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकला र पर्यटन क्षेत्र एक अर्काका परिपुरक रहेको उल्लेख गर्नुहुँदै नेपाली हस्तकलाले नेपाललाई विश्वमा चिनाएको धारणा राख्नुभयो । मन्त्री श्रेष्ठले हस्तकला मेलालाई वार्षिक क्यालेन्डरमा समावेश गरी अन्तर्राष्ट्रिय ग्राहक आकर्षित गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पुस्तालाई हस्तकलासम्बन्धी सीप र कला हस्तान्तरण गर्न प्रदेश सरकारले हस्तकला विश्वविद्यालयको अवधारणा अघि सारेको जानकारी दिनुभयो । हस्तकलाका मुख्य कच्चा पदार्थहरुको समुचित उपयोगमा जोड दिँदै मन्त्री पाण्डेले स्वदेशी वस्तु खपतमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा मेला आयोजक समितिका संयोजक दिल्लीरत्न तुलाधरले हस्तकला मेलालाई अन्तर्राष्ट्रिय ट्रेड डाइरेक्ट्रीमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने मेलालाई १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा ५ वटा पेभिलियन र १३० स्टल रहेका छन् ।

 

उत्कृष्ट निर्यातकर्ता तथा व्यवसायी सम्मानित
१९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताका अवसरमा विभिन्न कम्पनी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । निकासीतर्फ सम्मानित हुनेहरुमा एभरेष्ट फेसन प्रालि, एभरेष्ट फेल्ट एन्ड निट प्रालि र फेल्ट एन्ड यार्न प्रालि रहेका छन् ।

 

यस्तै, निकासीमा योगदान पु¥याउनेहरुमा बागमती आर्टस् एन्ड ह्यान्डीक्राफ्ट, माइन्डफुल क्राफ्ट प्रालि, ओम साइराम फेल्ट प्रडक्ट, गिफ्ट एन्ड इन्टरप्राइजेज, पापोज फेल्ट नेपाल, कृति क्राफ्ट, पिपल्स क्राफ्ट, एसियाटिक ट्रेडर्स एन्ड एक्सपोर्टस्, बनदेवी ट्रेडर्स, लस भेगस एक्सपोर्ट एन्ड इम्पोर्ट, नेपाल क्राफ्ट ग्यालरी, आर्टिजन वर्कसप र बि एल ह्यान्डीक्राफ्ट रहेका छन् । यस्तै, कल्पना क्राफ्ट, बिड्स फर लाइफ, क्रियसन क्राफ्ट, आरबी जेम एन्ड ज्वेलरी, कुम्भेश्वर ट्रेडिङ सेन्टर, न्यू गजमेर सुनचाँदी पसल, युनाइटेड कलर्स फेसन रहेका छन् ।