२०८१ बैशाख १४ , शुक्रवार

अबको २ वर्षपछि नेपालले बिजुली किन्नु पर्दैन : घिसिङ

सुनाखरी न्युज/ काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभएको छ ।

 

नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताउनुभएको हो । उहाँले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताउनुभयो । बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ ।

 

गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उहाँको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । उहाँले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताउनुभयो । उहाँले बिजुली खपत बढाएमात्रै देशमा समृद्धि आउने भन्दै एक युनिट बिजुली पनि खेर फाल्नु नहुने बताउनुभयो ।