सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ । नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।
भूपालका फुपाजु उद्धव खपागींले भने । भूपालले त्यहाँ आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए । भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए । राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहाँ उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहाँलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याए । उहाँलाई धेरैपटक बोलाउने कोशिस गरे । उहाँले नबोलेपछि ईमरजन्सीमा कल गरें । श्रीमती पारु थापाले भनिन, रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर डेथ डिक्लियरु गरिदियो । भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए ।
भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा पारूु संग विवाह गरेर फर्किएका थिए ।भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् । घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसँग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनिसँगै थिइन् । उनले फोनमा समाचार संकलकलाई भनिन् तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि सँगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु । भूपालको श्रीमती र छोरालाई यहाँका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।