२०८१ बैशाख १४ , शुक्रवार

फिल्म क्षेत्रमा विवाहको रौनक

सुनाखरी न्युज/ काठमाडौं ।अघिल्लो हप्ता अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमिका करिश्मा केसीसंग लगनगाँठो कसे । चार वर्ष लामो प्रेम सम्बन्धलाई आफन्त र फिल्म क्षेत्रका व्यक्तिहरुलाई साक्षी राखेर यी दुईले विवाह गरे ।

केही दिनअघि मात्रै अर्का अभिनेता संयम पुरीले पनि विवाह गरे । उनले आश्मा डिसीसंगको ६ वर्ष पुरानो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा दिलिप रायमाझी दम्पती, नवल नेपाल लगायत धेरै कलाकर्मीको उपस्थिती रहेको थियो । केही महिनाअघि नै कानूनी विवाह गरेकी दोहोरी गायिका कल्पना दाहालले समेत यही हप्ता परम्परागत रुपमा विवाह गरेकी छन् । उनले अमेरिका निवासी युवासंग विवाह गरेकी हुन् ।

निर्माता छवि राज ओझाले भने अब विवाह नगर्ने बताएका छन् । चार वटा असफल विवाह पश्चात् अब उनी विवाह नगर्ने बताए । त्यसो त शिल्पा पोखरेलसंगको उनको विवाहले उनलाई प्रहरी चौकीसम्म पुर्याएको थियो । सोही कारण केही वर्ष उनले फिल्म समेत बनाएनन् । अब भने उनी विवाहको किस्सा पर सारेर फिल्म निर्माणमा लागेका छन् ।

‘महापुरुष’ बाहेक मंसिर लागेपछि नेपाली फिल्मले खासै दर्शक पाउन सकेका छैनन् । तर फिल्म नचले पनि यो समय विवाह भने धेरै नै चलेको छ ।