२०८१ बैशाख १४ , शुक्रवार

बागमती प्रदेशमा डेंगु संक्रमित ४२ हजार बढी

सुनाखरी न्युज/ काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ। बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ। काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन्। रसुवा जिल्लामा ११ मा मात्र डेंगुका सङ्क्रमित फेला परेको बताइएको छ। डेंगुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४ बिरामी भएका छन्। यसैगरी सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ।

 

त्यसैगरी प्रदेशमा हालसम्म डेंगु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ। काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको छ।