२०८० चैत्र १६ , शुक्रवार

३२ जना महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ ।

 

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक वडाबाट १ जना पर्ने गरी शिफारिस भएर आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महिला स्वास्थ्य स्वयमसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै प्रशंशा गर्नुभयो ।

 

‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस । तपाईँहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको यो योगदान अतुलनीय छ ।’ प्रमुख शाहको भनाइ थियो । त्यस क्रममा उपप्रमुख डंगोलले, समाजका समुदाय समुदायभित्र स्वास्थ्यको पहुँच पु¥याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताउनुभयो । ‘घर घरमा कसलाई कस्तो समस्या छ भनेर लगत भएका स्वयमसेविकाहरुलाई महानगरले कम आँकलन गरेको छैन । हामी गर्दैनौँ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘महामारीजस्तो कठिन समयसँग जुध्नका लागि यहाँको क्रियाशीलताले समस्या व्यवस्थापनमा उल्लेखनीय टेवा पुगेको छ ।’स्वयमसेविका नाम आफैँमा पवित्र छ । यसको पवित्रता कायम गर्न यहाँहरुको काम अरु कुनै चीज वा बस्तुसँग तुलना हुँदैन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले धारणा राख्नुभएको थियो ।

 

 

काठमाडौँ महानगरपालिकामा स्वयमसेविकाहरुको व्यवस्थापनका लागि निर्देशिका जारी गर्न कार्यपालिकाबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । स्वास्थ्य विभागका प्रमुखकाअनुसार २०५१ सालबाट महानगरमा सुरु भएको स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थितिलाई निर्देशिकाले व्यवस्थित गर्नेछ । उहाँकाअनुसार महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका रहेकोमा अहिले घटेर ५२८ पुगेको छ । कोही विदेश गएकोले, कसैको मृत्यु भएकाले संख्या घटेको हो । देशमा आज १९ औँ स्वयमसेविका दिवसका रुपमा कार्यक्रम गरियो । महानगरले भने २०६८ सालमा तालिम दिएर औपचारिकता दिएपछिका बर्षहरुलाई गणना गर्ने गरिएको छ । यसकारण महानगरका लागि ११ औँ दिवस भएको हो ।

 

दिवसले हामीलाई उर्जा दिएको छ । जनशक्ति र कामलाई व्यवस्थित गर्न निर्देशिका तयार हुनु सकारात्मक कुरा हो । कार्यक्रममा सम्मानित स्वयमसेविकाहरुका तर्फबाट जानुका श्रेष्ठ भण्डारीले भन्नुभयो, ‘स्वयमसेविकाका कामका बारेमा चर्चा गरौँ । यसले नपुगेका कुरा पु¥याउन र कमजोर भएका कामलाई सुधार गर्न मद्दत हुनेछ ।’नेपालभर करिब ५२ हजार जना स्वास्थ्य स्वयमसेवक छन् ।