२०८१ बैशाख १२ , बुधवार

सूर्यको बिहे हुनेवाला

सुनाखरी न्युज/ काठमाडौं । सूर्यदेव बिहे !सुन्दा अचम्म लाग्ने विषय, सूर्यको बिहे हुनेवाला थियो। यो शुभ समाचार चारैतर्फ फैलिइसकेको थियो। केही समयपछि यो समाचार धर्तीमा पनि आइपुग्यो। सबै जीवहरू यो समाचार सुनेर हर्षित भए।

 

तर अर्को अचम्म देखियो। अर्थात्, भ्यागुताहरू निकै चिन्तित भए। एक दिन तिनीहरूको बैठक बस्यो, जसमा यो बिहेलाई रोक्नुपर्छ भन्ने कुरा पारित भयो। तर यो कसरी सम्भव छ ?, एउटा युवा भ्यागुतो बैठकमा जुरुक्क उठेर सोध्यो। वृहस्पतिदेवसँग प्रार्थना गरेर एक अर्को भ्यागुतोले उत्तर दियो। अतः भ्यागुताहरू दिन–रात टर्टराउन थाले। तिनीहरूले टर्टराएको सामूहिक आवाज यति शक्तिशाली बन्यो कि आकाशमा पुग्यो। देवताहरूले आफ्ना गुरु वृहस्पतिलाई सो आवाजबारेको कुराको सूचना दिए।

 

वृहस्पति भ्यागुताहरूलाई भेट्नका लागि धर्तीतर्फ ओर्लिए। त्यहाँ पुगेर उनले भ्यागुताहरूलाई भने, के कष्ट भयो तिमीहरूलाई ? भ्यागुताहरूले उत्तर दिए, महाराज ! हाम्रा लागि त एक सूर्य नै संकटको कारण छन्। उनले आफ्नो चर्को किरणहरूबाट हाम्रा सबै घरहरू सुकाइदिएका छन्। यदि उनले बिहे गरेर दुई–तीन अरू सूर्यहरू उत्पन्न गरिदिए भने त हाम्रो हालत के होला ? वृहस्पतिदेवले मुस्कुराएर भने, चिन्ता नगर। म नयाँ सूर्यहरूलाई आकाशको यो भागबाट निकै टाढा पठाइदिनेछु।

नैतिक शिक्षा : प्रकृतिको नियम अटल छ।