२०८१ बैशाख १३ , बिहिवार

बालबच्चाको पहिलो पाठशाला आमाबुवाको बोली र व्यवहार

सुनाखरी न्युज/ काठमाडौं । बालबच्चाका लागि सम्पूर्ण संसार भनेकै आफ्नो घर हो । घरमा हुने गतिविधिको सिको गर्दागर्दै उनीहरु हुर्किन्छन् । घरमा बोलिने भाषा, शैली, लवजमा उनीहरु क्रमशः अभ्यस्त हुन थाल्छन् । यसैगरी घरमा गरिने क्रियाकलापको सिको गर्न थाल्छन् । घरसँग उनीहरु अभिन्न रुपमा जोडिन पुग्छन् ।

घरमा उनीहरुसँग सबैभन्दा नजिकका आमा र बुवा हुन्छन् । उनीहरुले आमाबुवालाई नै सबैथोक मान्छन् । आमाबुवा नै सबैभन्दा ठूलो, सबैभन्दा जान्ने, सबैभन्दा राम्रो, सबैभन्दा प्यारो, सबैभन्दा शक्तिशाली भन्ने बाल मनोविज्ञान हुन्छ ।आमाबुवालाई उनीहरुले आफ्नो आदर्श बनाउँछन् । आमाबुवाले जे जसो गर्छन्, त्यसैको अनुशरण गर्छन् । अलि हुर्किएपछि बुवाआमाले बच्चालाई शिक्षादीक्षाका लागि विद्यालय पठाउने गर्छन् । विद्यालय पठाएपछि जान्ने बुझ्ने हुन्छन् भन्ने उनीहरुलाई लाग्छ । जबकि बालबच्चाको सिकाइको उद्गम बुवाआमा नै हुन् । बुवाआमाले जस्तो संस्कार दिन्छन्, बालबच्चाको बोली–व्यवहार त्यही अनुरुप विकास हुन्छ ।

 

बालबालिकालाई कुनै पनि कुरा सिकाउने प्रभावकारी विधि भनेको अभिभावक शिक्षा हो । यदि बच्चालाई केही व्यवहारका कुरा र केही ज्ञानका कुरा सिकाउनु छ भने सबैभन्दा पहिले त अभिभावकले त्यो व्यवहार अपनाएको हुनुपर्छ । कुनै पनि कुरा बच्चाले भनेर भन्दा पनि देखेर सिक्छ । अभिभावकले के कस्तो बानी–व्यवहार अपनाएका छन् त्यो बच्चाले देखेर सिक्छ । बालबालिकाले आफ्नो अभिभावकलाई आफ्नो रोल मोडल मानेका हुन्छन् ।