२०८१ बैशाख ८ , शनिवार

कालिकोटका विद्यालयमा पाठ्यपुस्तक अभाव

सुनाखरी न्युज/ काठमाडौं । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको जनाएको छ। तर कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन्। पुस्तकका लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावका कारण विद्यार्थीका हातमा पुस्तक उपलब्ध नभएको जनजीवन माविका प्रधानाध्यापक तेजबहादुर शाहीले बताए।

पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्छन्, तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागज अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।