२०८१ बैशाख १४ , शुक्रवार

एनसीसी बैंकले गर्यो नगद लाभांश वितरण

सुनाखरी न्युज/काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

 

बैंकले हाल कायम चु्क्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको आधारमा ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बैंकले नगद लाभांश भने मंसिर ६ गतेदेखिनै वितरण गर्न सुरु गरेको बताएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको थियो । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार असोज ११ गतेदेखि रोक्का रहेको छ ।

 

यसर्थ असोज ११ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई नियमानुसार बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा कात्तिक १५ गतेसम्म शेयर दर्ता किताबमा कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् । सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको बैंकले जानकारी दिएको छ । नगद लाभांश बैंक खातामै जम्मा गर्ने व्यवस्था रहेकाले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराई लभांश प्राप्त गर्न अनुरोध गरेको छ ।