२०८१ बैशाख ८ , शनिवार

नियम नमान्ने ९ वाणिज्य बैंक कारबाहीमा, जरिवानादेखि सचेत गराउने सम्मको कारवाही

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामक निकाय राष्ट्र बैंकको निर्देशन पालना नगर्ने ९ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको, विपन्न वर्ग क्षेत्र कर्जा नपुऱ्याएको लगायत शिर्षकमा ती बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

 

जसअनुसार  तोकिएको सीमाअनुसार विपन्न वर्ग क्षेत्रको कर्जा नपुर्‍याएको भन्दै बैंक अफ काठमाण्डूलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भेटिएपछि  बैंक अफ काठमाण्डू र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही स्वरुप सचेत गराइएको छ । यस्तै, नियम विपरित कर्जाको ब्याजदरमा प्रिमियम बढाएको आरोपमा राष्ट्र बैंकले हिमालयन, सनराइज लगायतका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही स्वरुप सचेत गराएको छ ।

आधार दरभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाइने राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको आरोपमा सनराइज र मेगा बैंक पनि कारबाहीमा परेका छन् । यस्तै प्रमुख कार्यकारी अधिकृत अवकास हुँदा थप सुविधा उपलब्ध गराएको भन्दै राष्ट्र बैंकले सनराइज बैंकको सञ्चालक समितिलाई कारबाही गरेको छ । तीन रचार वर्षसम्म पनि नियमित हुन नसकेको कर्जा (खराब कर्जा) मा कुनै किसिमको नोक्सानी व्यवस्था कायम नगरी झनै कर्जा भुक्तानी सीमा बढाएको भन्दै राष्ट्र बैंकले मेगा बैंकलाई सचेत गराएको छ ।