२०८२ चैत्र ५ , बिहिवार

मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु

 

सुनाखरी न्युज / काठमाडौं – वर्षाको कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको छ । अहिले खोलालाई डाइभर्ट गरेर गेटहरु खोल्ने तयारी भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उपत्याकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले खोलाहरु डाइभर्ट गरेर गेटहरु खोल्ने काम भइरहेको छ ।’’

 

गेटहरु खोलि सकेपछि सरसफाई गरेरमात्र पानी टनेलमा हालिने ईन्जिनियर कुँवरले बताउनुभयो । टनेलमा पानी पठाएको करिब १४ दिनपछि मात्र टनेल भरिनेछ र पानी काठमाडौं पठाइने उहाँको भनाइ छ ।यसकारण उपत्यकामा मेलम्चीको पानी आउन अझै एक महिना लाग्ने देखिएको उहाँ बताउनुहुन्छ । कुँवरले भन्नुभयो, ‘‘गेटहरु खोलेर केही फोहोर भए सफा गरेर टनेलमा पानी पठाउछौँ । तर टनेलमा पानी पठाएको करिब १४ दिनसम्म त टनेल भरिन समय लाग्छ । त्यसपछि मात्र काठमाडौं पानी पठाउन सुरु गर्छौं ।’’

 

अनुसार वर्षाअगावै गेटहरु बन्द गरिएकाले गतवर्षको तुलनामा यसवर्ष सुरुङभित्र र बाहिर बढी क्षति नभएकाले आधामात्र सरसफाई गरे पुग्ने देखिएको छ । तर, अबको एक दुई दिनमा सुरुङभित्रको केही फोहोर सफा गरिसक्ने उहाँको भनाइ छ ।अम्बाथानमा पोर्टल खोल्ने काम पनि जारी नै रहेको कुँवर बताउनुहुन्छ । अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो । हाल जतिसक्दो छिटो पानी सुरुङमार्गमा पठाउने गरी काम भइरहेको उहाँको भनाइ छ । चुनावले गर्दा पनि काममा केही ढिलाई भएको उहाँ बताउनुहुन्छ। साभार गोरखापत्र