सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् ।
आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको छ । एमालेलाई सघाएको भन्दै सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले तुरुन्त हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भनेका थिए । तर मुख्यमन्त्री आफ्नै गृह जिल्ला पूर्वी नवलपरासी रहेका र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमेत चितवनस्थित घर गएकाले बर्खास्तीमा ढिलाइ भएको थियो । प्रदेशप्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेल मंगलबार दिउँसो पोखरा आएलगत्तै मन्त्री आचार्यलाई हटाइएको हो ।
आचार्यले भने आफूलाई किन हटाइएको भन्ने बारे केही थाहा नभएको बताए । ‘मैले सम्हालेको मन्त्रालय एक नम्बर बनाएर छाडिदिएको छु,’ उनले टेलिफोनमा भने, ‘राजनीतिक रूपमा म स्वतन्त्र छु ।