२०८१ बैशाख ३० , आइतवार

आजदेखि बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

सुनाखरी न्युज/ काठमाडौं । हिजोसम्म बीमा समिति भन्दै लेख्दै आएको संस्था आजबाट नाम परिवर्तन भएर नेपाल बीमा प्राधिकरण भएको छ । नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयन भए सँगै बीमा समितिको नाम पनि परिवर्तन भएको हो ।

राष्ट्रिय सभाले बीमा ऐन पारित गर्ने समयमा यो ऐन प्रमाणिकरण भएको ३१ औ दिनदेखि लागु हुनेछ भन्ने व्यवस्था थप गरिदिएकाले आजदेखि बल्ल जारी भएको हो ।बीमा समितिले २०७० सालदेखि यो बीमा ऐनको मस्यौदालेखनको काम सुरु गरेको थियो । तर संसदमै तीन चार वर्ष अड्कियो । यसरी बीमा समितिको झण्डै एक दशकको प्रयास पछि नयाँ बीमा ऐन जारी भएको छ । जसले तीस वर्ष पुरानो बीमा ऐनलाई प्रतिस्थापित गर्न सफल भएको छ । पुराना बीमा ऐनको कतिपय व्यवस्था असान्दर्भिक समेत भइसकेको थियो भने ऐनमा भएका व्यवस्थाले नियमन हुन नसकेर कयौ निर्देशिका मार्फत नियन्त्रण गर्नु पर्ने अवस्था थियो ।

बीमा समितिले अहिलेसम्मकै उत्कृष्ट ऐन आएको भन्दै स्वागतका लागि सबैलाई आह्वान गरे पनि कतिपय पक्षले भने आलोचना गरिरहेका छन् । ऐनले पछिल्लो समयको डिजिटलाइजेसनलाई समेट्न नसकिएको भन्दै आलोचना भए पनि ऐनले अहिले जति पनि प्रचलनामा रहेका निर्देशिका छन् ति सबैलाई समेटेको छ । ऐन कमजोर हुँदा हिजोका दिनमा बीमा समिति निरिह थियो । अव नयाँ ऐनले बीमा प्राधिकरणलाई बलियो बनाइदिएको छ । बीमा कम्पनीहरुले जस्ता सुकै गल्ति गर्दा पनि १० हजार जरिवाना दिन बाध्य हुने बीमा प्राधिकरणले अवका दिनमा लाखौ रुपैयाँको जरिवाना गर्न सक्ने अधिकार पाएको छ ।

 

आफ्नो नियमन क्षेत्र भित्रका अझ आफैले अनुमति दिएका कम्पनीलाई पुर्ण रुपमा नियमन गर्ने अधिकार नभएको बीमा प्राधिकरणले भोलिका दिनमा बीमा भन्दा बाहिरका क्षेत्र जहाँ बीमा जोडिन्छ ति सबै क्षेत्रमा नियमन गर्ने अधिकारी प्राप्त गरेको छ । यस अर्थमा ऐनले बीमा प्राधिकरणलाई अधिकार सम्पन्न बनाइदिएको छ । त्यसैले बीमा प्राधिकरणका लागि नियमनमा फड्को मार्ने अवस्थाको सिर्जना भएको छ ।